काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।
एमालेका सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार पार्टीको स्थायी कमिटीको प्रथम बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा भेलाको मिति र स्थान तय गरिएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २५ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले केन्द्रीय कमिटीमा मनोनयन गर्ने, स्थानीय तहका कमिटीको अधिवेशन गर्ने र राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नेलगायतका निर्णय गरेको थियो।
सङ्गठन विभाग प्रमुख ढकालका अनुसार भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधि सहभागी हुनेछन्।
भेलामार्फत पार्टीको सङ्गठनात्मक गतिविधि, कमिटीहरूको व्यवस्थापन तथा स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।






