डडेल्धुरा– नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा डडेल्धुराका किसानलाई भने बर्खेबाली भित्र्याउने चटारो परेको छ। धानलगायतका बालीनाली भित्र्याउने समयमै दसैँ परेपछि किसान खेतबारीमै व्यस्त भएका हुन्।
वर्ष दिनमा एकपटक आउने दसैँ मनाउन घर फर्किएकाहरू पनि आफन्तसँग भेटघाट गर्नुका साथै खेतबारीमा बालीनाली उठाउन जुटेका छन्। पछिल्ला केही दिनयता जिल्लाका अधिकांश किसानको दैनिकी बिहान सबेरै खेतबारी पुग्ने र साँझ अबेर मात्रै घर फर्किने बनेको छ।
भागेश्वर गाउँपालिका–४ की देवकी भट्टका अनुसार अहिले किसानलाई दसैँ मनाउनभन्दा बर्खेबाली भित्र्याउन बढी हतारो छ। मकै र धानबाली भित्र्याइसकेका किसान अहिले भटमास, सोयाबिनलगायतका दलहन बाली उठाउन व्यस्त छन्। महिलाहरू खर काट्ने काममा पनि जुटिरहेका छन्।
डडेल्धुराको भित्री मधेस क्षेत्रअन्तर्गत आलिताल र परशुरामका किसानलाई पनि धान काट्ने, बिटा बाँध्ने, झार्ने र भित्र्याउने कामको चटारो छ। केही दिनअघिसम्म लगातार वर्षा भएकाले पाकेको धान भित्र्याउन समस्या भइरहेको परशुराम नगरपालिका–४ की किसान यशोदा जोशीले बताइन्।
‘मिहिनेत गरेर फलाएको धानबाली भित्र्याउन नपाइने हो कि भन्ने चिन्ता छ। मौसमले साथ दिए हुन्थ्यो,’ उनले भनिन्, ‘दसैँभन्दा पनि खेतमा लगाएको बाली सुरक्षित रूपमा भित्र्याउनु किसानको मुख्य प्राथमिकता हो।’
दसैँमा परिवार र आफन्तसँग बसेर रमाइलो गर्ने रहर भए पनि खेतीपातीको कामले गर्दा पर्याप्त समय निकाल्न नसकिएको किसानको भनाइ छ। बर्खेबाली भित्र्याउने र हिउँदे बाली लगाउने समय एकैसाथ परेकाले किसानलाई चाडपर्वभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ।
अमरगढी नगरपालिका–७ की किसान कल्पना भट्टका अनुसार यो समय किसानका लागि कामको चटारो हुने भएकाले चाडपर्व मनाउनसमेत पर्याप्त फुर्सद मिल्दैन।
‘महिलाहरू बिहान उज्यालो नहुँदै खेतमा पुग्छन्। खाना खानसमेत फुर्सद नहुने किसानलाई दसैँको रमाइलोबारे थाहा भए पनि काम सक्नेमै बढी ध्यान हुन्छ,’ उनले भनिन्, ‘काम पूरा गर्न पाउँदा नै सन्तुष्टि मिल्छ।’
कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार जिल्लामा छ हजार १८८ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती हुने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी परशुराम नगरपालिकामा एक हजार २३७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ।
जिल्लामा गत वर्ष २१ हजार ४०० मेट्रिक टन बर्खे धान उत्पादन भएको तथ्याङ्क छ। यस वर्ष पनि धानबाली भित्र्याउने समयमा मौसमले साथ दिने अपेक्षामा किसान रहेका छन्।






