पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

दिउँसो देशका हिमाली भूभागका थोरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा अन्य पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राति हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

रातिको समयमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।