रसुवा । बाढी र पहिरोले क्षति पुर्याएको रसुवाको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत गरिएको छ। गोसाइँकुण्ड गाउँपालिका–४ का बासिन्दाले श्रमदान गरेर पहिरोका कारण क्षतिग्रस्त पदमार्ग सुधार गरेका हुन्।
वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार पहिरोभन्दा माथि र रिमिचेभन्दा तलका साथै पदमार्गका अन्य क्षतिग्रस्त स्थानमा मर्मत कार्य सम्पन्न गरिएको छ। स्थानीयवासीको प्रत्यक्ष सहभागितामा आवतजावतमा समस्या भएका मुख्य स्थानहरू सुधार गरिएको उहाँले बताउनुभयो।
गत भदौ १० गते आएको भीषण बाढीले लाङटाङ प्रवेशको मुख्य द्वारका रूपमा रहेको स्याफ्रु बजारमा ठूलो क्षति पुर्याउनुका साथै स्याफ्रु जोड्ने सडक पुलसमेत बगाएको थियो। मुख्य प्रवेशमार्ग र पुल क्षतिग्रस्त भएपछि नियमित आवतजावत अवरुद्ध भएको थियो।
त्यसपछि पर्यटक तथा स्थानीयवासीको आवागमन सहज बनाउन वैकल्पिक पदमार्ग सञ्चालनमा ल्याइएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो। पदमार्ग मर्मतसँगै आवतजावत थप सहज र सुरक्षित बनेको गाउँपालिकाले जनाएको छ।
निर्धारित वैकल्पिक मार्गअनुसार अब सदरमुकाम धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै दुई दिनको पैदल यात्रामा लाङटाङ पुग्न सकिनेछ।
पदमार्ग मर्मत गरी सञ्चालनमा ल्याइएपछि बाढीबाट प्रभावित पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।






