नारायणगढ। चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सिनं २३९ (ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट बिहीबार ११९ जना सशस्त्र प्रहरी जवान दीक्षित भएका छन् ।
दीक्षान्त समारोहमा प्रशिक्षार्थी जवानलाई शपथ ग्रहण गराउनुका साथै दर्ज्यानी चिह्न प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक राजेन्द्र खड्कालाई दीक्षित जवानले सलामी अर्पण गर्दै अन्तिम कवाज प्रदर्शन गरेका थिए । सो अवसरमा नायब महानिरीक्षक खड्काले तालिममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीलाई पुरस्कार वितरण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नायब महानिरीक्षक खड्काले दीक्षित जवानको अनुशासित र लगनशील कार्यशैलीले उज्ज्वल भविष्य निर्माण हुने विश्वास व्यक्त गरे। उनले तालिम पूरा गरेसँगै राष्ट्रको सुरक्षाका लागि जिम्मेवारी थपिएको बताए।
उनले भने, ‘आज तपाईंहरूको पोसाकमा नयाँ पहिचान थपिएको छ । काँधमा नयाँ जिम्मेवारी आएको छ र जीवनमा राष्ट्रसेवाको पवित्र संकल्प जोडिएको छ ।’
नायब महानिरीक्षक खड्काले आत्मविश्वास र उत्साहका साथ जवानले आफ्नो यात्रा सुरु गरेको उल्लेख गर्दै तालिमका क्रममा गरेको मेहनत अब राष्ट्रका लागि समर्पित गर्नुपर्ने बताए। जस्तोसुकै कठिन परिस्थितिको सामना गर्ने अठोटका साथ कार्यक्षेत्रमा खटिनुपर्नेमा जोड दिँदै उनले नागरिकको सम्मान र सुरक्षा नै अबको प्रमुख जिम्मेवारी भएको बताए।
नागरिकको विश्वास जितेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘कर्तव्य निर्वाह गर्दा कठोरता सँगसँगै मानवीयता, साहससँगै विवेक र अनुशासनसँगै विनम्रता पनि कायम राख्नुहोस् ।’
उनले जवान उत्पादन गर्ने परिवार तथा तालिम प्रदान गर्ने प्रशिक्षक र शिक्षालयप्रति आभार व्यक्त गरे।
तालिम शिक्षालयका प्रमुख एवं सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ उपरीक्षक तथा समादेशक विकास घिमिरेले सशस्त्र प्रहरी बलको भर्ना तथा छनोट प्रक्रियाका विभिन्न चरण उत्तीर्ण गरी नियुक्ति प्राप्त गरेका जवानलाई सङ्गठनको नीतिअनुसार आधारभूत तालिम प्रदान गरिएको जानकारी दिए ।
उनका अनुसार जवानहरूलाई सङ्गठनले निर्धारण गरेको पदअनुसारको व्यावसायिक योग्यता र दक्षता हासिल गराई योग्य, इमानदार तथा कर्तव्यनिष्ठ जनशक्तिका रूपमा तयार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
उनले सिनं २३९ ९ङ० सशस्त्र प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्ने ११९ जना प्रशिक्षार्थीमध्ये ख क्ष समूहका आठ, ख त्र समूहका तीन, ग क्ष समूहका २०, ग त्र समूहका ५७ र घ त्र समूहअन्तर्गत ग्रेडिङमा ३१ जना रहेका जानकारी दिए ।
उनका अनुसार तालिमलाई दुई चरणमा विभाजन गरी सञ्चालन गरिएको थियो । पहिलो चरणमा फौजी कवाज, हतियार तालिम, सैन्य कौशल, बिपिइटी, मेडिकल, फायरिङ, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, कन्भेन्सनल युद्धकला र नक्सा अध्ययनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको थियो ।
दोस्रो चरणमा बिपिइटी, क्वार्टर गार्ड ड्रिल, सलामी, विभिन्न ऐन-कानुन, विपद् व्यवस्थापन, हुल तथा दङ्गा व्यवस्थापन, सीमा सुरक्षा, माइनर ट्याक्टिक्स, फायरिङ, फिल्ड इन्जिनियरिङ तथा रेडियो सिग्नललगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालिमका दुवै चरणमा पाँच–पाँच दिनका बाह्य अभ्याससमेत सञ्चालन गरिएको उनले जानकारी दिए ।
दीक्षान्त समारोहमा सशस्त्र प्रहरी बलका विभिन्न तहका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख एवं दीक्षित जवानका अभिभावकको सहभागिता थियो ।






