राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले दसैँले पारिवारिक मिलन, सामाजिक सद्भाव, क्षमा, मेलमिलाप र भाइचारालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता बोकेको नेपालमा विभिन्न जातजातिका आ–आफ्नै परम्परा र संस्कृति रहे पनि दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच सामाजिक एकता कायम गर्न सहयोग पुर्‍याएको उनको भनाइ छ । यस पर्वले सांस्कृतिक एकता र राष्ट्रिय पहिचानलाई अक्षुण्ण राख्नसमेत योगदान दिएको उनले उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको धार्मिक मान्यतालाई स्मरण गर्दै दसैँलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्वका रूपमा व्याख्या गरेका छन् ।

दसैँले परिवारका सदस्यबीच पुनर्मिलन गराउनुका साथै खुसी, आत्मीयता र सद्भाव साटासाट गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै उनले यसको पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय महत्व रहेको बताएका छन् ।

यसैबीच, राष्ट्रपति पौडेलले देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना र पुनर्निर्माणका लागि सबै पक्ष एकजुट भएर अघि बढ्न पनि राष्ट्रपति पौडेलले अपिल गरेका छन् ।