काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित राख्न निर्देशन दिएको छ ।
मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक जनशक्ति व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति तथा सघन उपचार सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको हो ।
दसैँ बिदाका कारण नागरिकले अत्यावश्यक स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले मन्त्रालयले अस्पताल पूर्ण रूपमा बन्द नगर्न र कुनै पनि अवस्थामा अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन भनेको छ ।
मन्त्रालयले बिदाको अवधिमा सेवा प्रवाह सहज बनाउन आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थलगायत सामग्री पर्याप्त मौज्दात राख्न पनि निर्देशन दिएको छ ।






