पेरिस । फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दा बढी व्यक्ति पक्राउ परेको गृहमन्त्री लरेन्ट नुनेजले आइतबार जानकारी दिनुभएको छ। प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए।
गृहमन्त्री नुनेजले सामाजिक सञ्जाल एक्समार्फत घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको बताउनुभएको छ। दोषी ठहर हुने व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने उहाँले स्पष्ट पार्नुभएको छ।
पेरिस, मार्से, लियोन र बोर्डोलगायत फ्रान्सका प्रमुख सहरमा प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो। अमेरिका–इरान द्वन्द्वका कारण बढेको मुद्रास्फीतिको विरोधमा आयोजित ठूला प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाटका घटना भएका हुन्।
यसअघि फ्रान्सका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले कक्षाकोठाको दयनीय अवस्थाको विरोधमा चार सातासम्म प्रदर्शन गरेका थिए। तीमध्ये केही प्रदर्शनसमेत हिंसात्मक बनेका थिए।
गृहमन्त्री नुनेजले शनिबार भएका प्रहरीसँगका झडप, सार्वजनिक भवनमा आगजनी तथा तोडफोड र पसलहरूमा भएको व्यापक लुटपाटमा ‘हजारौँ अति वामपन्थी’ व्यक्तिहरू जिम्मेवार रहेको आरोप लगाउनुभएको छ।
प्रदर्शनका कारण ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै उहाँले विशेषगरी सयौँ पसल सञ्चालक प्रभावित भएको बताउनुभयो। हिंसात्मक घटनाका क्रममा करिब ५०० प्रहरी, अग्निनियन्त्रक तथा आकस्मिक स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मी घाइते भएको पनि उहाँले जानकारी दिनुभयो। घाइतेको सङ्ख्या थप बढ्न सक्ने उहाँको भनाइ छ।
फ्रान्समा अराजकता र हिंसा फैलाउने प्रयासका अगाडि सरकार नझुक्ने स्पष्ट पार्दै गृहमन्त्री नुनेजले कानुनविपरीतका गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गरिने बताउनुभएको छ।






