दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन) — चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदाका चार दिन पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म आकस्मिक कक्षमार्फत सबै प्रकारका सेवा उपलब्ध गराउने जनाएको छ।

अस्पतालका निर्देशक प्रा. डा. गोपेन्द्र देवका अनुसार बडादसैँको अष्टमीदेखि एकादशीसम्म बिरामीलाई उपचार सेवाबाट वञ्चित हुन नदिन अस्पताल सञ्चालनमा राख्न लागिएको हो। उक्त अवधिमा रेडियोलोजी, प्रयोगशाला र अन्तरङ्ग सेवा पनि नियमित सञ्चालन हुने उनले जानकारी दिए।

दसैँका समयमा सम्भावित दुर्घटना, हृदयाघात, खाना अपच तथा झाडापखालालगायतका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले चाडपर्वका बेला अस्पताल बन्द हुने आशङ्काले बिरामीमा अन्योल सिर्जना हुन सक्ने भएकाले सेवा सञ्चालनबारे जानकारी गराइएको बताए। अन्य कतिपय अस्पतालमा नियमित सेवा बन्द वा सीमित हुने भएकाले बिरामीलाई सहज उपचार उपलब्ध गराउन आकस्मिक कक्षलाई थप व्यवस्थित बनाइएको उनको भनाइ छ।

उनका अनुसार आकस्मिक कक्षमा थप डेस्क राखेर बहिरङ्ग (ओपिडी) सेवा लिनुपर्ने बिरामीलाई समेत उपचार उपलब्ध गराउने तयारी गरिएको छ।

पुराना रोग भएका बिरामीलाई नियमित परामर्श आवश्यक पर्ने र आकस्मिक स्वास्थ्य समस्या जुनसुकै समयमा पनि देखिन सक्ने भएकाले दसैँ बिदामा समेत उपचार सेवालाई निरन्तरता दिन लागिएको अस्पतालले जनाएको छ।