काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयादशमीले सबैलाई सत्य र न्यायको मार्गमा अडिग रहने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
यसवर्षको चाडपर्व प्राकृतिक विपत्ति र बाढीपहिरोका कारण प्रभावित भएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले घरबास गुमाएर अस्थायी आश्रयमा बस्न बाध्य बाढीपहिरो पीडितको आँसु पुछ्नु र जीवन सामान्य बनाउन हातेमालो गर्नु सबैको दायित्व भएकामा जोड दिएका छन् ।
राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउँदै उनले आआफ्नो क्षमताअनुसार पीडितलाई साथ दिन सबैमा आह्वान गरेका छन् ।
पूर्वअध्यक्ष रेग्मीले प्राकृतिक विपत्ति र कमजोर अर्थतन्त्रले मुलुकलाई अप्ठ्यारो पारेको अवस्थामा देशलाई कुनै न कुनै रूपले अस्थिरतातर्फ धकेल्ने प्रवृत्ति देखिएकामा चिन्ता व्यक्त गर्दै त्यस्ता प्रवृत्तिलाई निस्तेज पार्नुपर्ने आवश्कयता औँल्याएका छन् ।
जनताले बनाएको संविधान जनसहमति बिना बदलिन नसक्ने स्पष्ट पार्दै पूर्वध्यक्ष रेग्मीले जनताको मतबाट निर्मित संविधान र कानुनको शासन नै देशको सबैभन्दा भरपर्दो जग भएको बताएका छन् । संविधानमा सुधारको आवश्यकता देखिएमा संवैधानिक प्रक्रिया र व्यापक राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्ने र असहमतिको समाधान संवाद, संयम तथा विधिभित्र खोजिनुपर्नेमा उनको जोड छ ।
विदेशमा रहेका लाखौँ नेपाली युवाको श्रम र पसिनाले देश चलेको भए पनि आफ्नै माटोमा सम्मानजनक रोजगारी र अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले युवाको ऊर्जा, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन र निष्पक्ष न्याय नै समृद्ध नेपालको आधार भएको बताएका छन् ।
बिनातडकभडक सौम्य र निष्ठापूर्वक बडादसैँ मनाउन आग्रह गर्दै पूर्वअध्यक्ष रेग्मीले आपसी सद्भाव बढाउने, पारिवारिक मिलन गराउने र नयाँ पुस्तामा संस्कृति तथा मूल्य मान्यता हस्तान्तरण गर्ने यसपर्वले देशलाई उन्नति, प्रगति, स्थिरता र समृद्धितर्फ अघि बढाउन दुर्गा भवानीले शक्ति प्रदान गरुन् भनी कामना गरेका छन् ।






