ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध टस जितेको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा हुने खेलमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । खेल बिहान सवा ११ बजेदेखि सुरु हुने तालिका छ ।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । अर्जुन कुमालको स्थानमा देव खनाललाई प्लेइङ–११ मा समावेश गरिएको छ ।

लिग–२ को अंकतालिकामा शीर्ष छ स्थानभित्र पर्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । शृङ्खलाको सुरुआती दुई खेलमा क्यानडा र ओमानलाई हराएको नेपाल शनिबार क्यानडासँग पराजित भएको थियो ।

क्यानडासँगको हारपछि नेपाल अंकतालिकामा सातौँ स्थानमा झरेको छ । ३५ खेलबाट २८ अंक जोडेको नेपाललाई पछि पार्दै क्यानडा ३६ खेलमा २९ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । आज ओमानलाई पराजित गर्न सके नेपाल पुनः छैटौँ स्थानमा पुग्नेछ ।

लिग–२ को शीर्ष छ स्थानमा रहने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगिने सम्भावना बलियो हुने भएकाले नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

नेपालको प्लेइङ–११

सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, देव खनाल, इशान पाण्डे, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव र ललित राजवंशी ।