हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

काठमाडौं । नेपाल, भुटान र भारतका याक तथा चौँरीपालक कृषकलाई एउटै क्षेत्रीय मञ्चमा आबद्ध गर्ने उद्देश्यले ‘हिमालय याक कृषक सञ्जाल’ स्थापना हुने भएको छ। भुटानमा असोज ६ र ७ गते आयोजना हुने नवौँ रोयल हाइल्यान्ड महोत्सवका अवसरमा सञ्जालको औपचारिक शुभारम्भ गरिने भएको हो।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार हिमाली क्षेत्रका याकपालक कृषक समुदायलाई मात्र लक्षित गरी स्थापना हुन लागेको यो पहिलो क्षेत्रीय मञ्च हो। कृषक, सरकार तथा विकास साझेदारबीच करिब एक दशकदेखि हुँदै आएको सहकार्यको परिणामस्वरूप सञ्जाल स्थापना गर्न लागिएको हो।

जलवायु परिवर्तन, चरन क्षेत्रको क्षयीकरण, याकको सङ्ख्यामा गिरावट र युवा पुस्ताको बढ्दो बसाइँसराइजस्ता समस्याको दीर्घकालीन समाधान खोज्न सञ्जालले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सञ्जालले याकपालक समुदायबीच सामूहिक पैरवी, ज्ञान तथा अनुभव आदानप्रदान, क्षमता अभिवृद्धि र सीमापार सहकार्यलाई प्रवर्द्धन गर्नेछ। कृषककै नेतृत्वमा सञ्चालन हुने सञ्जालको केन्द्रीय सचिवालय भुटानमा रहनेछ।

कृषकको पहलमा स्थापित विश्व रेनडियर कृषक सङ्घको सफल अभ्यासबाट प्रेरित यस सञ्जालको नेतृत्व पनि हिमाली क्षेत्रका याकपालक कृषकले नै गर्नेछन्।

महोत्सवमा नेपाल, भुटान र भारतका याक तथा चौँरीपालक महासङ्घका प्रतिनिधि, सरकारी अधिकारी, अनुसन्धानकर्ता, विकास साझेदार तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ। इसिमोडका अनुसार कार्यक्रममा भुटानका राजा तथा प्रधानमन्त्रीको समेत उपस्थिति रहनेछ।

याकपालक समुदायले भोग्दैछन् साझा चुनौती

हिमाली क्षेत्रका स्थानीय समुदायको जीविकोपार्जन, संस्कृति र अर्थतन्त्रमा याकपालनको महत्त्वपूर्ण योगदान छ। तर पछिल्ला दशकमा याकको सङ्ख्या घट्दै जानु, चरन क्षेत्र खुम्चिनु र प्राकृतिक स्रोतको क्षयीकरण हुनु प्रमुख समस्याका रूपमा देखिएका छन्।

इसिमोडका वरिष्ठ पशुपालन तथा चरन क्षेत्र विशेषज्ञ ताशी दोर्जीका अनुसार याकपालक समुदायले जलवायु परिवर्तनको असर, याकको आनुवंशिक विविधतामा ह्रास, वन्यजन्तुको आक्रमणबाट पशुधनमा हुने क्षति तथा आधुनिक बजार र पशुचिकित्सा सेवामा सीमित पहुँचजस्ता समस्या भोगिरहेका छन्।

त्यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रबाट युवा पुस्ता अन्यत्र बसाइँ सर्ने क्रम बढ्दा परम्परागत याकपालन व्यवसायसमेत प्रभावित भइरहेको छ।

यी समस्या कुनै एक देशमा मात्र सीमित नभई समग्र हिमाली क्षेत्रमा देखिएकाले समाधानका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको विशेषज्ञ दोर्जीले बताएका छन्।

उनका अनुसार सञ्जालले तीनै देशका राष्ट्रिय महासङ्घलाई एउटै मञ्चमा ल्याएर हिमाली समुदायको जीविकोपार्जनलाई उत्थानशील बनाउने, स्वस्थ चरन क्षेत्रको संरक्षण गर्ने र याकका आनुवंशिक स्रोत जोगाउने काममा सहयोग पुर्‍याउनेछ।

सन् २०१६ देखि सुरु भएको पहल

हिमालय याक कृषक सञ्जालको अवधारणा सन् २०१६ मा अघि सारिएको थियो। त्यतिबेला इसिमोडको ‘कञ्चनजङ्घा भू–परिदृश्य संरक्षण तथा विकास पहल’ अन्तर्गत नेपाल, भुटान र भारतका याकपालक कृषक, अनुसन्धानकर्ता तथा सरकारी प्रतिनिधि पहिलो पटक एकै ठाउँमा भेला भएका थिए।

सन् २०१८ मा तीनै देशका प्रतिनिधि नर्वेमा आयोजित ‘आर्कटिक फ्रन्टियर्स सम्मेलन’मा सहभागी भएका थिए। उक्त सम्मेलनमा उनीहरूले विश्व रेनडियर कृषक सङ्घका प्रतिनिधिसँग अनुभव आदानप्रदान गरेका थिए। त्यसपछि हिन्दुकुश हिमालय क्षेत्रमा पनि यस्तै क्षेत्रीय सञ्जाल स्थापना गर्ने अवधारणाले मूर्तरूप लिन थालेको हो।

क्षेत्रीय सञ्जाल गठन गर्नुअघि तीनै देशमा राष्ट्रिय महासङ्घ स्थापना गर्ने सहमति भएको थियो। सोहीअनुसार भुटानमा सन् २०२२, नेपालमा सन् २०२३ र भारतमा सन् २०२५ मा राष्ट्रिय महासङ्घ गठन भएका थिए।

यसैगरी, सन् २०२५ मा भियतनाममा आयोजित विकासशील देशका लागि दिगो पशु कृषिसम्बन्धी दशौँ सम्मेलनका क्रममा तीनै देशका महासङ्घका नेतृत्वकर्ता तथा सरकारी प्रतिनिधिले हिमालय याक कृषक सञ्जाल स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

भुटानमा हुने औपचारिक शुभारम्भलाई हिमाली याकपालक समुदाय र उनीहरूका साझेदार संस्थाबीच लामो समयदेखि जारी सहकार्यको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

नेपालमा ५३ हजारभन्दा बढी याक तथा चौँरी

समग्र हिन्दुकुश हिमालय क्षेत्रको ६० प्रतिशतभन्दा बढी भूभाग प्राकृतिक चरन क्षेत्रले ओगटेको छ। चरन क्षेत्रमा प्रत्यक्ष निर्भर करिब दुई करोड ५० लाखदेखि तीन करोड आदिवासी तथा स्थानीय समुदायका लागि यो क्षेत्र जीविकोपार्जनको प्रमुख आधार बनेको छ।

नेपालको राष्ट्रिय कृषि गणना २०२०/२१ अनुसार देशका नौ हजार ८९९ कृषक परिवारले ५३ हजार १९५ याक, नाक तथा चौँरी पालेका छन्।

कर्णाली प्रदेशको कुल क्षेत्रफलमध्ये ३४ प्रतिशत भूभाग चरन क्षेत्रले ओगटेको छ। त्यहाँका चरन क्षेत्रमा ९२ प्रजातिका बहुमूल्य औषधीय वनस्पति पाइन्छन्। तीमध्ये ८२ प्रजातिको व्यावसायिक कारोबार हुने गरेको छ। जडीबुटीको व्यापारबाट मात्रै उक्त क्षेत्रमा वार्षिक करिब तीन करोड ६० लाख रुपैयाँ आम्दानी हुने गरेको छ।

भारतको सन् २०१९ को २०औँ पशुधन गणनाअनुसार त्यतिबेला देशभर करिब ५८ हजार याक थिए। याक फेडेरेसन अफ इन्डियाका अनुसार सन् २०२६ सम्म आइपुग्दा महासङ्घमा आबद्ध ५२६ सदस्य घरधुरीसँग करिब ३२ हजार याक मात्र बाँकी छन्।

भुटानको राष्ट्रिय तथ्याङ्क ब्युरोको सन् २०२४ को प्रतिवेदनअनुसार त्यहाँका ७४६ घरधुरीले २९ हजार ४३२ याक पालेका छन्। भुटानको कुल पशुजन्य उत्पादनमा याकपालनको योगदान करिब चार प्रतिशत रहेको छ।

इसिमोडका अनुसार नेपाल, भुटान र भारतमा भू–उपयोगको बदलिँदो स्वरूप, चरन क्षेत्रको क्षयीकरण, जलवायु परिवर्तनको दबाब र सामाजिक–आर्थिक परिवर्तनका कारण पछिल्ला केही दशकमा याकको सङ्ख्या उल्लेख्य रूपमा घट्दै गएको छ।

यस्तो अवस्थामा तीनै देशका कृषकलाई एउटै क्षेत्रीय सञ्जालमा आबद्ध गरेर ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नुका साथै याकपालन व्यवसायको संरक्षण र प्रवर्द्धनमा सहकार्य गर्ने अपेक्षा गरिएको छ।