बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्का कारण पर्वतको जलजला गाउँपालिकामा ३१६ घरमा क्षति पुगेको छ भने थप १४० घर जोखिममा रहेका छन्।

गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोले गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेका अनुसार बाढीपहिरोले १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुर्‍याएको छ। अन्य घरमा भएको क्षति तथा जोखिमको विवरणसमेत संकलन गरिएको छ।

बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती भएको जमिनमा क्षति पुर्‍याएको छ। सडक, खानेपानी, सिँचाइ तथा बस्ती संरक्षणका लागि निर्माण गरिएका पूर्वाधारसमेत प्रभावित भएका छन्।

गाउँपालिकाको वडा नं. ८ स्थित फर्सेमा सबैभन्दा बढी क्षति भएको छ। त्यहाँ बाढीले ७५ घर बगाएको छ भने थप २७ घर जोखिममा रहेका छन्। अन्यत्र घर नभएका र आफैँ बसोबासको व्यवस्था गर्न नसक्ने बाढीपीडितलाई अस्थायी शिविरमा राखिएको छ।

फर्सेसँगै वडा नं. ७ का ताङवाङ र खानीगाउँ तथा वडा नं. ४ को लामाखेत पनि बाढीपहिरोबाट प्रभावित भएका छन्। पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए।

उनका अनुसार पहिरोले बस्ती घेरिएको छ भने जमिन चिराचिरा परेको र घरका पर्खालसमेत असुरक्षित बनेका छन्। जोखिम बढेपछि खानीगाउँ र ताङवाङका बासिन्दा सुरक्षित स्थानमा सरेर अस्थायी टहरा बनाई बस्न बाध्य भएका छन्।

गाउँपालिकाले प्रभावित परिवारलाई राहत उपलब्ध गराउनुका साथै अल्पकालीन र दीर्घकालीन पुनःस्थापनाको योजना अघि बढाएको अध्यक्ष राजुप्रसाद आचार्यले बताए।

तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी आवासको व्यवस्था गर्ने तयारी गरिएको उनले जानकारी दिए। दीर्घकालीन रूपमा भने सरकारी नीतिअनुसार क्षतिग्रस्त निजी आवास तथा भौतिक संरचनाको पुनर्निर्माण गरिने उनको भनाइ छ।

बाढीपहिरोबाट क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवनको पुनर्निर्माण गर्नुका साथै जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष आचार्यले बताए। विपद् नियन्त्रण तथा पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन सङ्घीय र प्रदेश सरकार तथा दातृ निकायसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ।