आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौं । सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।

प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम चारमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस प्लेअफबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।

प्रतियोगितामा सहभागी हुने आठमध्ये हालसम्म छ टोलीको टुङ्गो लागिसकेको छ। नेपाल, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) लिग–२ को अन्तिम चारमा रहने निश्चित भइसकेको छ। त्यस्तै, च्यालेन्ज लिग ‘बी’ बाट इटाली र युगान्डाले प्लेअफमा स्थान पक्का गरेका छन्।

च्यालेन्ज लिग ‘ए’ बाट जर्सी छनोट प्लेअफमा पुग्ने निश्चित भएको छ भने कुवेतको सम्भावना पनि बलियो छ। यद्यपि, प्रतियोगिताका केही खेल बाँकी रहेकाले कुवेतको सहभागिता औपचारिक रूपमा निश्चित हुन बाँकी छ।

त्यस्तै, लिग–२ बाट ओमान र नामिबियामध्ये एक टोलीले प्लेअफमा स्थान बनाउनेछ। यसको पनि अन्तिम टुङ्गो लाग्न बाँकी छ।

विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि परिवर्तन हुने भएको छ।

क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा शृङ्खलाको नयाँ तालिका तय गरी सार्वजनिक गरिनेछ।