साउदीमा ड्रोन आक्रमण हुँदा नेपालीसहित दुईजनाको *मृ*त्यु

काठमाडौं । साउदी अरबमा ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको छ। घटनामा भारतीय र पाकिस्तानी नागरिकसहित दुई जना घाइते भएका छन्।

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको साउदी अरामकोद्वारा सञ्चालित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको प्रयास हुँदा उक्त घटना भएको हो। शैबाह तेल क्षेत्र संयुक्त अरब इमिरेट्स (यूएई) को सीमाक्षेत्र नजिकै अवस्थित छ।

साउदी ऊर्जा मन्त्रालयका अनुसार आक्रमणको प्रयासका क्रममा खसेको ड्रोनको भग्नावशेष लागेर दुई जनाको मृत्यु भएको हो। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृतकमा एक नेपाली र एक फिलिपिनो नागरिक रहेको उल्लेख छ। तर, मृत्यु हुने नेपालीको नाम भने सार्वजनिक गरिएको छैन।

घटनामा घाइते भएका दुई जनामध्ये एक भारतीय र अर्का पाकिस्तानी नागरिक रहेको मन्त्रालयले जनाएको छ।

उक्त आक्रमणको आरोप यमनका इरान समर्थित हुथी विद्रोहीमाथि लगाइएको छ। यसअघि गत महिना पनि साउदी अरबमा अवरोध गरिएको हुथी विद्रोहीको ड्रोनको भग्नावशेष लागेर एक यमनी नागरिकको मृत्यु भएको थियो।