काठमाडौं । सशस्त्र प्रहरी बलले सुनसरीबाट विभिन्न प्रकारका लागूऔषधसहित मोटरसाइकल बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा बुधबार सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–४ स्थित नहर चोकबाट लागूऔषध बरामद भएको हो । प्र.१ ०२–०४७ प १४७२ नं. को मोटरसाइकल पार्किङ गरी राखिएको अवस्थामा लागूऔषध भेटिएको हो ।
नेपाल प्रहरीसहित संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा स्थानीय व्यक्तिहरूले फेला परेको लागूऔषध लुटपाटको प्रयास गरेका थिए । उनीहरूले लागूपदार्थ लुटपाट गरी प्रमाण नष्टको प्रयास गर्दै हुलहुज्जत समेत गरेका थिए ।
चेकजाँचका क्रममा प्रतिबन्धित लागूऔषध नाइट्रोजन ट्याब्लेट १० पत्ता, ट्रमाडोल १६ पत्ता र अर्को एक लागूपदार्थ ४ पत्ता फेला परेको थियो । सो मोटरसाइकल र लागूऔषध नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।






