यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासका कारण यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ।

गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षहरूमा दसैँ बिदामा पर्यटकीय गन्तव्यहरूमा चहलपहल निकै हुने गरेको थियो।

चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक रूपमा आन्तरिक पर्यटक आएका छैनन्। क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले आफ्नो सौराहास्थित होटल ल्यान्डमार्कमा बिहीबार ७५ कोठामध्ये सात वटा मात्रै बुक भएको बताए। उनले भने, “सौराहा मात्रै होइन, निकै चहलपहल हुने पोखरामा पनि यस वर्ष विगतजस्तो आन्तरिक पर्यटक छैनन्।”

वर्षाका कारण पुनः बाटो अवरुद्ध हुने डर आन्तरिक पर्यटकमा रहेको उनको अनुमान छ। यसका साथै भोटेकोशी र बूढीगण्डकीको बाढीका कारण ठूलो जनधनको क्षति भएकाले नेपालीहरूले यस वर्ष उत्साहपूर्ण दसैँ नमनाएको उनको भनाइ छ।

अबका दिनमा भने क्रमशः पर्यटक बढ्ने अपेक्षा उनले व्यक्त गरे। भोटेकोशी बाढीपछि सारिएका बुकिङहरू पुनः हुन थालेको उनले बताए। नयाँ बुकिङ आउन थालेकाले दसैँसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने उनको अनुमान छ।

होटल व्यवसायी सुमन घिमिरेले शुक्रबारदेखि क्रमशः सौराहामा आन्तरिक पर्यटक बढ्दै जाने बताए। “अब क्रमशः पर्यटक बढ्नेमा हामी विश्वस्त छौँ,” उनले भने।

शुक्रबार, शनिबार र आइतबार धेरै होटल भरिने अनुमान गर्दै उनले भने, “दसैँ बिदा भएकाले आन्तरिक पर्यटकले सौराहा भरिन्छ भन्नेमा हामी आशावादी छौँ।”

विगतका वर्षहरूमा जस्तै चहलपहल अहिलेसम्म सौराहामा भइनसकेको उनले बताए। अब पर्यटक बढ्न थालेपछि क्रमशः वैशाखसम्म आगमन जारी रहने उनको भनाइ छ।

होटल भिष्टाका सञ्चालक रमेश सिलवालले दसैँसँगै आन्तरिक पर्यटक आउनेमा आशावादी रहेको बताए। दसैँको समयमा विदेशी पर्यटक भने केही आएको उनले जानकारी दिए। भारतीयसहित अन्य देशका पर्यटकले सोधपुछ र बुकिङ गर्न थालेको उनको भनाइ छ।

व्यवसायीहरू विदेशी पर्यटकको सङ्ख्या अब बढ्नेमा विश्वस्त छन्। भोटेकोशी बाढीको समयमा वर्षापछिको याम भएकाले धेरै पर्यटकको बुकिङ रद्द हुँदा व्यवसायीहरूले ठूलो नोक्सानी व्यहोर्नुपरेको थियो।

वनबास रिसोर्ट सौराहाका महाप्रबन्धक प्रकाश न्यौपानेले दसैँको समयमा आफ्नो होटल विदेशी पर्यटकले भरिएको बताए। उनले भने, “गएको तीन दिन मेरो होटल विदेशी पर्यटकले भरिएको छ।” जर्मनी, डेनमार्क, बेल्जियम, अस्ट्रेलिया र अमेरिकाबाट पर्यटक आएको उनले जानकारी दिए।

स्वदेशी पर्यटकको बुकिङ भने कमजोर रहेको जनाउँदै उनले अबका दिनमा पर्यटक बढ्नेमा आफू आशावादी रहेको बताए। भोटेकोशी बाढीपछि रोकिएका पर्यटक आउन थालेको उल्लेख गर्दै उनले भने, “जति नेपाल आएका छन्, विगतमा जस्तै गरी उनीहरू सौराहा पनि आउन थालेका छन्।”

चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा सौराहा रहेको छ। निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटक धेरैजसो सौराहामा बस्ने गर्छन्। यसबाहेक भरतपुरको पटिहानी, जगतपुर र मेघौली लगायतका क्षेत्रमा पनि पर्यटक बस्ने गर्छन्। ती क्षेत्रबाट हात्ती, जिप, डुङ्गा र पैदल यात्रा गर्दै निकुञ्ज तथा मध्यवर्ती क्षेत्र घुम्न उनीहरू रुचाउँछन्। एकसिङ्गे गैँडा र पाटेबाघजस्ता दुर्लभ वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्छन्।

देशको तेस्रो पर्यटकीय गन्तव्य चितवनलाई सफारी पर्यटनका लागि पहिलो मानिन्छ। यहाँ थारू संस्कृति अवलोकनका लागि पनि पर्यटक आउने गर्छन्।