धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण व्यक्तिगत तथा धार्मिक उद्देश्यले हुन लागेको स्पष्ट पारेका छन्। उनले भ्रमणलाई राजनीतिक विषयसँग जोडेर नहेर्न आग्रह गरेका छन्।
भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिक स्थल कैंची धामको दर्शनका लागि प्रस्थान गर्ने क्रममा धनगढी विमानस्थल पुगेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै कारागारमा रहँदा गरेको भाकल पूरा गर्न परिवारसहित भारत जान लागेको बताए।
पत्नी निकिता पौडेल तथा पार्टीका नेताहरूसँगै धनगढी पुगेका लामिछानेलाई विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
भ्रमणका क्रममा राजनीतिक भेटघाट हुने सम्भावनाबारे पत्रकारहरूले राखेको जिज्ञासामा उनले त्यस्तो कुनै कार्यक्रम नरहेको स्पष्ट पारे। उनले भने, “यो मेरो विशुद्ध व्यक्तिगत र धार्मिक भ्रमण हो। म कारागारमा हुँदा नै एउटा भाकल गरिएको थियो, त्यसैलाई पूरा गर्न परिवारसहित जान लागेको हुँ।”
आफ्नो भ्रमणलाई राजनीतिक घटनाक्रमसँग जोडेर व्याख्या नगर्न आग्रह गर्दै लामिछानेले भने, “कुनै राजनीतिक भेटघाट छैन। कसैलाई पनि यसमा राजनीतिक खिचडी नपकाउन अनुरोध गर्न चाहन्छु।”
नेपालका अन्य मन्त्रीहरूको समेत भारत भ्रमण भइरहेका बेला आफ्नो भ्रमणलाई त्यससँग जोडेर हेरिएको विषयमा उनले व्यक्तिगत र राजनीतिक विषयलाई छुट्टाछुट्टै रूपमा बुझ्नुपर्ने बताए।
“कहिलेकाहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई हामीले अलग्याउन सक्नुपर्छ। साथीहरूले मलाई यी दुई कुरा अलग्याउन सहयोग गरिदिनुहुनेछ भन्ने विश्वास छ,” उनले भने।
लामिछाने धनगढीबाट सडकमार्ग हुँदै भारतको नैनीतालस्थित कैंची धाम तथा आसपासका धार्मिक स्थलहरूको दर्शन गर्न प्रस्थान गरेका हुन्।





