काठमाडौं- विश्व भोकमरी सूचकांक २०२६ को प्रतिवेदनअनुसार नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ। सूचकांकले नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा रहेको देखाएको छ। नेपालले यस वर्ष १०० पूर्णांकमा १४.५ अंक प्राप्त गरेको छ। सन् २०१८ मा नेपालको अंक १८.४ थियो, जसले पछिल्लो समय मुलुकमा भोकमरीको अवस्था सुधार हुँदै गएको पुष्टि गर्छ।
प्रतिवेदनअनुसार दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालको अवस्था भारत, पाकिस्तान र बंगलादेशभन्दा राम्रो देखिएको छ। क्षेत्रीय तुलनामा श्रीलंका १०.२ अंकसहित ५३औँ स्थानमा छ भने बंगलादेश १९.२ अंकसहित ८४औँ, भारत २४.१ अंकसहित १००औँ र पाकिस्तान २५.५ अंकसहित १०६औँ स्थानमा रहेका छन्। अफगानिस्तान १०८औँ स्थानमा छ। दक्षिण एसियाको क्षेत्रीय औसत अंक २३.५ रहेको छ, जुन विश्वको औसत अंक १८.१ भन्दा बढी छ। यसले यस क्षेत्रमा भोकमरी र कुपोषणको समस्या गम्भीर रहेको संकेत गर्छ।
नेपालमा पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपनको दरमा उल्लेख्य सुधार आएको छ। सन् २००० मा यस्तो समस्या ५५.९ प्रतिशत बालबालिकामा देखिएकोमा सन् २०२६ मा घटेर २६.२ प्रतिशतमा झरेको छ। यो अवधिमा पुड्कोपनको दर २९.७ प्रतिशत विन्दुले घटेको हो। यद्यपि, पोषण र खाद्य सुरक्षाका क्षेत्रमा अझै सुधार गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ।
भोकमरी सूचकांक गणना गर्दा चार प्रमुख सूचकहरूलाई आधार मानिएको छ। जसमा अपर्याप्त क्यालोरी सेवन गर्ने जनसंख्याको अनुपात, पाँच वर्षमुनिका बालबालिकामा उमेरअनुसार उचाइ कम हुने समस्या, उचाइअनुसार तौल कम हुने समस्या र पाँच वर्ष उमेर नपुग्दै हुने बालमृत्यु दर समावेश छन्। सूचकांकमा कम अंक प्राप्त गर्नु भोकमरीको अवस्थामा सुधार हुनु हो।






