मुस्ताङ – दसैँपछि हिमाली जिल्ला मुस्ताङमा पर्यटकको आगमन बढ्न थालेको छ। दसैँअघि सुनसानजस्तै रहेको मुस्ताङमा टीकापछि पर्यटकीय चहलपहल बढेको हो।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा गत असोज ११ गतेको भारी वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको पर्यटन क्षेत्र प्रभावित बनेको थियो। सडकमार्ग अवरुद्ध भएपछि पर्यटकको आगमन घटेकोमा दसैँपछि भने क्रमशः वृद्धि हुन थालेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँको टीकापछि बिहीबार र शुक्रबार गरी दुई दिनमा सात हजार ८४६ जना पर्यटक मुस्ताङ भित्रिएका छन्।
दसैँको टीकापछिको पहिलो दिन बिहीबार तीन हजार ३३ जना र शुक्रबार चार हजार ८१३ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका हुन्। पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने पर्यटकको दैनिक सङ्ख्या बढ्दै गएको प्रहरी निरीक्षक महतले बताए।
प्रहरीको तथ्याङ्कअनुसार यस वर्ष घटस्थापनादेखि विजयादशमीसम्मको १० दिनमा बेनी–जोमसोम सडकमार्ग हुँदै पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए। तीमध्ये तीन हजार ७३८ जना पुरुष र एक हजार ९२५ जना महिला थिए।
उक्त अवधिमा चार हजार ४०९ जना विदेशी पर्यटक मुस्ताङ पुगेका थिए, जुन कुल पर्यटकको ७७ दशमलव ८५ प्रतिशत हो।
प्राकृतिक विपद्का कारण सडक सम्पर्क प्रभावित हुँदा मुस्ताङको पर्यटन व्यवसायमा असर परेको थियो। सडकमार्गको आवागमन सहज बन्दै गएसँगै दसैँपछि पर्यटकको आगमन बढ्न थालेको हो।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनमा ३० हजार ५३४ जना पर्यटक मुस्ताङ पुगेका थिए। त्यस्तै, भदौमा २० हजार २६८ जना र असोजमा १८ हजार ६०१ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्।






