काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २० वटा विपद्का घटना भएका छन्। ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब २४ लाख १५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि कात्तिक ७ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो र जनावरको आक्रमणलगायतका घटना भएका हुन्।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सप्तरी, धादिङ, गोरखा, कञ्चनपुर र डडेल्धुरामा सर्पदंशका घटना भएका छन्। त्यस्तै, मोरङ, सुनसरी, बारा, नवलपरासी पूर्व, दाङ, सल्यान, कैलाली र डडेल्धुरामा आगलागीका घटना भएका छन्।
यसैगरी, मनाङ र डोल्पामा लेक लाग्ने, म्याग्दीमा पहिरो तथा कास्की र कैलालीमा जनावरको आक्रमणका घटना भएका छन्।
प्राधिकरणका अनुसार विपद्का घटनामा आठ जना घाइते भए पनि मानवीय मृत्यु भएको छैन। विभिन्न घटनाबाट भौतिक सम्पत्तिमा भने क्षति पुगेको छ। घाइतेमध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा लगिएको छ।
विपद्का घटनाबाट भएको क्षतिको विवरण सङ्कलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गर्न तथा आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, विपद्का समयमा सतर्कता अपनाउँदै जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न सके सम्भावित जनधनको क्षति कम गर्न सकिने प्राधिकरणले जनाएको छ।






