आश्विन शुक्ल त्रयोदशीः नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउन तथा मान्यजनबाट आशीर्वाद लिन आफन्तका घर जाने क्रम जारी छ ।

विजयादशमीका दिन कात्तिक ४ गते दश दिनसम्म विधिपूर्वक पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको टीका लगाउने र आशीर्वाद थाप्ने परम्परा कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्रै दुर्गाको प्रसादस्वरूप टीका लगाउने र आशीर्वाद लिने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसादस्वरूप टीका लगाउन शास्त्रीय रूपमा कुनै बाधा छैन ।

केही दिनदेखि सुनसानजस्तै देखिएको राजधानीमा आज बिहानदेखि चहलपहल बढ्न थालेको छ । टीका र आशीर्वाद लिन आफन्त तथा मान्यजनका घर जानेको सङ्ख्या बढेसँगै बजार क्षेत्रमा मानिसको आवतजावत पनि बढेको छ ।

यद्यपि, सवारीसाधनको सङ्ख्या कम हुँदा यात्रामा अपेक्षित सहजता हुन सकेको छैन । सार्वजनिक यातायातमा भीडभाड बढेको छ भने टीका थाप्न जानेको चहलपहल हिजोको तुलनामा बढी देखिएको छ ।

यस वर्ष कात्तिक ८ गते आइतबार अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी रहनेछ ।