नागढुंगा सडक : जहाँ दसैँमा घण्टौँ जाम हुन्थ्यो, याे वर्ष किन भयाे सुनसान ?

धादिङ । ‘दसैँमा घर जाँदा र फर्किँदा युद्ध लडेजस्तो हुन्थ्यो ।’ नागढुंगाको उकालो हुँदै वर्षौँसम्म घर आउजाउ गरेका रामजी वस्ती यसपालि भने पिपलमोडमा मोटरसाइकल रोकेर सुरुङको प्रवेशद्वार नियालिरहेका थिए । जाममा अलमलिएर होइन, दृश्य हेरेर रोकिन पाउँदाको आनन्दमा ।

सधैँ धुलो, धुवाँ र सवारीको घुइँचोले अस्तव्यस्त हुने नागढुंगा सडक यो वर्ष दसैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि यो क्षेत्र शान्त बनेको हो ।

विगतमा दसैँजस्ता ठूला चाडपर्वमा यो क्षेत्रमा सवारीको चाप र कोलाहल चर्कै हुन्थ्यो । यात्रुको भीड हुने समयमा समेत अहिले जामको सास्ती छैन । उकाला–घुम्तीमा ठूला सवारीले छाडेको धुवाँ, सडकको धुलो र घण्टौँसम्म गाडीभित्रै थुनिनुपर्ने बाध्यता अन्त्य भएको छ । हर्नको चर्को आवाज र भिडभाड घटेसँगै यात्रुले राहत र खुसी व्यक्त गरेका छन् ।

विशेषगरी दसैँ–तिहारमा राजधानी छाडेर बाहिरिने र भित्रिने हजारौँ यात्रु धुवाँ, धुलो र गर्मीमा घण्टौँ कुर्न बाध्य हुन्थे । बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीले झन् बढी कष्ट भोग्नुपथ्र्यो । अहिले सुरुङमार्गबाट सवारी बिनाअवरोध सरर पार हुन थालेपछि चाडपर्वको सकसपूर्ण यात्राबाट सर्वसाधारणले छुटकारा पाएका छन् ।

नागढुंगा–नौबिसे सडकखण्डअन्तर्गत पिपलमोडको तल्लो घुम्तीमा स्कुटर रोकेर थकाइ मार्दै गरेकी चितवनकी कृष्टी पौडेल भन्छिन्, ‘गाडीमा यात्रा गर्दा बान्ता हुने समस्याले अघिल्लो वर्षतिर यो बाटो सम्झेर दसैँमा घरै नजाऔँ जस्तो लाग्थ्यो । अहिले यो सजिलो छ भन्ने सुनेर स्कुटरमै आएँ । यति सजिलोसँग पार गर्न पाइन्छ भन्ने सोचेकै थिएन ।’

सुरुङ प्रवेशद्वारको पृष्ठभूमिमा तस्बिर खिचिरहेका युवा विष्णु श्रेष्ठले पनि पुरानो सास्ती र अहिलेको सहजता तुलना गरे । ‘पहिले जाम परेका कारण बाध्य भएर रोकिनुपथ्र्यो। अहिले सुरुङमार्ग र यहाँको दृश्य रमाइलो लागेर आफैँ रोकिन मन लाग्ने भएछ,’ उनले भने ।


सार्वजनिक सवारीबाट सुरुङ पार गरेर धादिङको खानीखोला पुगेकी तनहुँकी चेली मगरका लागि भने यो अनुभव सपनाजस्तै रह्यो । ‘जाम र धुलो–धुवाँ सम्झेर दसैँ–तिहारमा घर आउन–जान बर्सेनि सास्ती हुन्थ्यो । एक त घण्टौँको जाम, त्यसमाथि गाडीमा बान्ता भएर सासै फुस्केला जस्तो हुन्थ्यो। अहिले सुरुङबाट सरर एकैछिनमा कट्न पाइने भएछ । पहिलोचोटि सुरुङ छिरेर यहाँ आइपुग्दा सपना जस्तै लाग्यो,’ उनले भनिन् ।

२.६८ किलोमिटर लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो । जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा बनेको यो सुरुङको शिलान्यास २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । मुख्य सुरुङको ब्रेकथ्रु भने अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । प्रधानमन्त्री वालेन्द्र शाहको कार्यकालमा सुरुङमार्ग सञ्चालनमा ल्याइएकाे हो । (नेपाल न्यूज बैंककाे सहयाेगमा)