भोजपुर– धान भित्र्याउने समय नजिकिँदै गर्दा भोजपुरमा धानबालीमा ‘लाइ किरा’को प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्। किराले धानको फेदमा क्षति पुर्याउँदा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत नष्ट हुन थालेको किसानले बताएका छन्।
भोजपुर नगरपालिका–५ बोखिमका अधिकांश किसानको खेतमा लाइ किराको समस्या देखिएको स्थानीय किसान धनबहादुर थापाले बताए। विगतका वर्षमा यस्तो समस्या नदेखिएको भए पनि यस वर्ष किराको प्रकोपले धानबालीमा क्षति पुर्याएको उनको भनाइ छ।
धानको फेदमा किराले क्षति पुर्याएपछि बोट कमजोर भएर ढल्ने गरेको र यसले धान तथा पराल दुवैमा नोक्सानी पुर्याएको थापाले बताए। धान भित्र्याउने समयमा बालीमा किराको प्रकोप देखिएपछि यस वर्ष उत्पादन घट्ने चिन्ता किसानमा बढेको छ।
“विगतका वर्षमा धानमा यसरी लाइ किराको प्रकोप देखिएको थिएन,” उनले भने, “किराले धानको फेदमै क्षति पुर्याएपछि बोट ढल्न थालेका छन्। यसले धान उत्पादनमा मात्र नभई पशुचौपायाका लागि आवश्यक परालमा समेत नोक्सानी पुर्याएको छ।”
भोजपुर नगरपालिका–५ की अर्की किसान गीता विष्टले पनि धानको फेदमा लाइ किराको समस्या देखिएको बताइन्। उनका अनुसार किराको प्रकोपले धानको बोटसँगै बालामा समेत असर पारेको छ।
“धानको फेदमा लाइ किरा लागेर रस चुस्ने गरेको छ। त्यसका कारण बोट सुक्ने र बाला कालो भएर झर्ने समस्या देखिएको छ,” उनले भनिन्, “वर्षभरि खाने मुख्य बाली भित्र्याउने बेलामै नष्ट हुन थालेपछि हामी किसान समस्यामा परेका छौँ।”
धान पाक्ने र भित्र्याउने समय नजिकिँदै गर्दा बालीमा किराको प्रकोप देखिएपछि किसानले गरेको मेहनत र लगानी खेर जाने चिन्ता बढेको छ। धानका बोट ढल्दा बाली भित्र्याउनसमेत कठिन हुने तथा धान र पराल दुवैमा क्षति पुग्ने भएकाले किसान थप समस्यामा परेका छन्।






