तनहुँ । परिवारसँग रमाइलो समय बिताउन, प्रकृतिको आनन्द लिन र स्वादिला परिकारको स्वाद चाख्न चाहनेहरूका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । शान्त वातावरण, बाल उद्यान, जडीबुटी उद्यान, स्थानीय परिकार र आरामदायी बसाइको सुविधाले झाङ्गाझोली आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
प्राकृतिक सौन्दर्यमा रमाउन, बालबालिकालाई खेलाउन र परिवारका सदस्यसँग अविस्मरणीय पल बिताउन चाहनेहरूका लागि झाङ्गाझोली उपयुक्त गन्तव्य बन्न सक्छ । पृथ्वीराजमार्गको खैरेनीटार बजारबाट तीनखोलेदेवी मन्दिर जाने बाटोतर्फ करिब साढे एक किलोमिटर अगाडि पुगेपछि यहाँ पुग्न सकिन्छ । कालोपत्रे सडक र पार्किङको सुविधाले निजी सवारीसाधनमा यात्रा गर्ने पर्यटकलाई सहज बनाएको छ ।
घुमफिरसँगै जडीबुटी र वनस्पतिको ज्ञान
झाङ्गाझोलीको प्रमुख आकर्षणमध्ये गौरादेवी प्राकृतिक जडीबुटी उद्यान एक हो । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको उद्यानमा दुई सयभन्दा बढी प्रजातिका जडीबुटीका बिरुवा रोपिएका छन् । यहाँ रुद्राक्ष, तेजपात, श्रीखण्ड, अश्वगन्धा, तुलसी, नीम, टिमुर र कुरिलोलगायत वनस्पतिको अवलोकन गर्न सकिन्छ ।
बिरुवाको नाम र विवरणसहितका नेमप्लेट राखिएकाले पर्यटकले घुमफिरसँगै विभिन्न वनस्पतिबारे जानकारी लिन सक्छन् । विशेषगरी बालबालिकाका लागि यो उद्यान मनोरञ्जनसँगै ज्ञान हासिल गर्ने अवसर बनेको छ ।
उद्यानमा जनावरका आकर्षक मूर्ति, ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा, बाल उद्यान र हरियालीले थप आकर्षण बढाएका छन् । खोलाको आसपासको शान्त वातावरणमा बसेर परिवारसँग समय बिताउन तथा तस्बिर खिच्न सकिने भएकाले पनि यहाँ आउने पर्यटकले रमाइलो अनुभव लिन सक्छन् ।
स्थानीय परिकारदेखि आरामदायी बसाइसम्म
झाङ्गाझोलीमा घुमफिरसँगै खानपिनको आनन्द लिन चाहनेहरूका लागि लोकल कुखुरा र कालिजका परिकार उपलब्ध छन् । परिवार तथा आफन्तसँग बसेर खानपिन गर्ने, कुराकानी गर्ने र खुसी साट्ने वातावरणले यहाँको बसाइलाई थप रमाइलो बनाउने झाङ्गाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक उज्वल पौडेलले बताए ।
जन्मदिन, वैवाहिक वर्षगाँठलगायत पारिवारिक कार्यक्रम आयोजना गर्न क्याम्प फायर र कार्यक्रम हलको सुविधासमेत उपलब्ध छ । एक दिन घुमेर फर्किन वा रात बिताउन चाहने पर्यटकका लागि वातानुकूलित कोठाको व्यवस्था गरिएको छ । यहाँ कोठाको शुल्क प्रतिरात दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म रहेको छ ।
बिदाका दिन पाँच सयभन्दा बढी पर्यटक
सञ्चालक पौडेलका अनुसार झाङ्गाझोलीमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले आ–आफ्नै रुचिअनुसार रमाउन सक्ने वातावरण छ । टाढाको यात्रा गर्न नभ्याउनेहरूका लागि पनि परिवारसँग एक दिन बिताउन वा रात बसेर रमाइलो गर्न यो उपयुक्त गन्तव्य बन्न सक्ने उनको भनाइ छ ।
उद्यानका सञ्चालक बासुराज दाहालका अनुसार बिदाका दिन यहाँ पाँच सयभन्दा बढी र अन्य दिनमा करिब दुई सय आन्तरिक पर्यटक आउने गरेका छन् । करिब एक करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको जडीबुटी उद्यान तथा अन्य भौतिक संरचनाले यस क्षेत्रको आकर्षण बढाएको उनले बताए ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–३, झाँगाझोली निवासी ८९ वर्षीया गौरादेवी दाहालको नाममा स्थापना गरिएको उद्यानलाई जडीबुटी तथा वनस्पति संरक्षणसँगै शैक्षिक अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
प्रकृतिको काखमा रमाउने, बालबालिकालाई नयाँ कुरा सिकाउने, स्थानीय परिकारको स्वाद लिने र परिवारसँग गुणस्तरीय समय बिताउने अवसर एकै ठाउँमा उपलब्ध गराउँदै झाङ्गाझोली तनहुँको सम्भावनायुक्त आन्तरिक पर्यटन गन्तव्यका रूपमा अघि बढिरहेको छ ।






