पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको हो ।

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए । उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे । अर्जुनले अन्तिम ओभरमा १५ रन जोडे ।

त्यस्तै, महेदी हसनले ३२ रन बनाए । उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । महेदी छैटौँ ओभरको पाँचौँ बलमा अनिल खरेलको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए ।

ओपनर दिनेश खरेल तेस्रो ओभरको दोस्रो बलमा हेमन्त धामीको बलमा आउट भए । उनले सात बलमा चार रन बनाए । कप्तान कुशल भुर्तेलले १७ बलमा दुई चौकासहित २१ रन जोडे । उनी दशौँ ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरीको बलमा क्याच आउट भए ।

पोखराका शाकिब अल हसनले १४, धनञ्जय लक्षनले ११ र सदिरा समरविक्रमाले आठ रन बनाए । किरण ठगुन्ना एक रनमा आउट हुँदा विपिन खत्री पाँच रनमा अविजित रहे ।

बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले सर्वाधिक तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनले २३ रन खर्चिए । उनले महेदी हसन, शाकिब अल हसन र सदिरा समरविक्रमालाई आउट गरे ।

त्यस्तै, हेमन्त धामी, स्कट कुइगेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।