मुस्ताङमा एक अर्ब १४ करोड भन्दा बढीको स्याउ उत्पादन

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाका पाँचवटै स्थानीय तहमा ६६२ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउबाट उक्त परिमाणमा उत्पादन भएको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख डा. लालमणि अर्यालका अनुसार यस वर्ष मुस्ताङमा हाइब्रिड तथा स्थानीय परम्परागत जातका गरी कुल सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको छ । जसमध्ये २३ करोड छ लाख रुपैयाँ बराबरको ९५९ दशमलव ६२ मेट्रिक टन हाइब्रिड स्याउ र ९१ करोड ९० लाख ९१ हजार रुपैयाँ बराबरको छ हजार ७८ दशमलव ९२ मेट्रिक टन स्थानीय स्याउ उत्पादन भएको प्रारम्भिक विवरण छ ।

डा. अर्यालका अनुसार कृषि प्राविधिकले स्याउ बगैँचामा पुगेर क्रप कटिङ विधिबाट औसत उत्पादन मापन गरेका थिए । उत्पादनको कुल परिमाण अनुमान गर्न सम्बन्धित स्थानीय तहका कृषि प्राविधिक तथा स्याउ किसानसँग समेत समन्वय गरिएको उनले बताए ।

उत्पादित स्याउमध्ये ९४ करोड ८० लाख ९२ हजार रुपैयाँ बराबरको स्याउ जिल्लाबाहिर निकासी हुने अनुमान गरिएको छ । यस्तै, १७ करोड ५६ लाख रुपैयाँभन्दा बढी मूल्यको स्याउ जिल्लाभित्रै खपत हुने जनाइएको छ । कार्यालयले हाइब्रिड स्याउको मूल्य प्रतिकेजी २४० रुपैयाँ र स्थानीय परम्परागत स्याउको मूल्य प्रतिकेजी १५१ रुपैयाँ निर्धारण गरेको छ ।

गत वर्ष मुस्ताङमा छ हजार ६८४ दशमलव ३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा ३५४ दशमलव २४ मेट्रिक टन अर्थात् ५.२९ प्रतिशतले उत्पादन वृद्धि भएको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।

जिल्लामा हाल ९१७ हेक्टर क्षेत्रफलमा स्याउ बगैँचा विस्तार भएको छ । त्यसमध्ये ७६ हेक्टरमा हाइब्रिड र ८४१ हेक्टरमा स्थानीय परम्परागत जातका स्याउ खेती गरिएको छ ।