काठमाडौं– प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो कुनै चिनजान, सम्पर्क वा संलग्नता नरहेको स्पष्ट पारेका छन्।
विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले विज्ञप्तिमार्फत सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष वा परोक्ष रूपमा कुनै किसिमको सम्बन्ध नरहेको बताएका हुन्। आफूले ती व्यक्तिहरूलाई कहिल्यै नभेटेको पनि उनले स्पष्ट पारेका छन्।
विज्ञप्तिमा उनले समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीश भइसकेको अवस्था नरहेकोसमेत उल्लेख गरेका छन्। आफ्नो नाम जोडेर प्रकाशित समाचारलाई उनले आधारहीन, झुटा र कपोलकल्पित संज्ञा दिएका छन्।
‘दियो पोस्ट’ लगायतका सञ्चारमाध्यममा ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुस : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण !’ लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति आफू आश्चर्यचकित र स्तब्ध भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
जनतामा भ्रम सिर्जना गर्ने तथा दूषित उद्देश्यबाट प्रेरित भएर यस्ता भ्रामक समाचार फैलाइएको भन्दै प्रधानन्यायाधीश शर्माले त्यसप्रति भर्त्सना गरेका छन्। साथै, तथ्यहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न उनले आम नागरिकलाई आग्रह गरेका छन्।






