नेपाल र अमेरिकाबीच शैक्षिक तथा खेलकुद सहकार्य बढाउनेबारे छलफल

काठमाडौं– नेपालका लागि अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिन र शिक्षा, विज्ञान तथा प्रविधि एवम् खेलकुदमन्त्री सस्मित पोखरेलबीच शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल–अमेरिका शैक्षिक सहकार्य, विद्यार्थी विनिमय कार्यक्रम तथा खेलकुद क्षेत्रको साझेदारीका विषयमा छलफल भएको छ।

सो अवसरमा अमेरिकी विनिमय कार्यक्रम, विशेषगरी फुलब्राइट कार्यक्रममार्फत अमेरिकामा अध्ययन तथा अनुभव हासिल गरी नेपाल फर्किएका नेपालीहरूले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरिएको थियो। उनीहरूले अमेरिकी शैक्षिक उत्कृष्टता र अनुभवलाई नेपालको शैक्षिक क्षेत्रमा उपयोग गर्दै पुर्‍याएको योगदानबारे पनि चर्चा भएको थियो।

त्यसैगरी, सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिक तथा प्यारालिम्पिक खेलकुदलाई लक्षित गर्दै दुई देशबीच खेलकुद कूटनीतिका सम्भावनाबारे छलफल भएको छ।

भेटमा नेपाली खेलाडी तथा प्रशिक्षकका लागि तालिम, खेलाडीको क्षमता विकास र खेलकुद व्यवस्थापनमा अमेरिकी विशेषज्ञता तथा अनुभव आदानप्रदान गर्ने सम्भावनाबारे समेत कुराकानी भएको जनाइएको छ।