पत्रकारमाथि प्रहरीको धरपकड, विभिन्न सञ्चारमाध्यमका पत्रकार पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटाको मोबाइलमा भेटिएको सम्पर्क विवरण सार्वजनिक गर्ने पत्रकारमाथि प्रहरीले धरपकड थालेको छ।

प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई शुक्रबार पक्राउ गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाउने तयारी गरेको भन्दै समाचार विवरण सार्वजनिक गरेपछि उनलाई पक्राउ गरिएको हो।

यसअघि प्रहरीले मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई पनि पक्राउ गरेको थियो। उनलाई अनामनगरबाट नियन्त्रणमा लिइएको हो।

त्यस्तै, प्रहरीले पुतलीसडकस्थित नयाँ पत्रिकाको कार्यालयमा समेत टोली परिचालन गरेको छ। नयाँ पत्रिकाले इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलबीच कुराकानी हुने गरेको विवरण सार्वजनिक गरेको थियो।

यसैगरी, दियो पोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई पनि प्रहरीले खोजिरहेको बताइएको छ। प्रहरी टोली दियो पोस्टको कार्यालयमा समेत पुगेको जनाइएको छ।