सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकार पक्राउको चौतर्फी विरोध

काठमाडौं । समाचारको स्रोत खोज्ने नाममा सञ्चारगृहको समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ। नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीको पक्राउ र अन्य सञ्चारमाध्यममा प्रहरीको उपस्थितिप्रति सञ्चार क्षेत्रका जानकारहरूले कडा आपत्ति जनाएका छन्।

वरिष्ठ पत्रकार शिव गाउँलेले समाचार कक्षमा प्रहरी प्रवेशलाई संविधानको मर्मविपरीतको कार्य भन्दै टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रेस स्वतन्त्रताको रक्षाका लागि लड्नुअघि संविधान जोगाउनुपर्ने अवस्था आएको उल्लेख गरेका छन्। नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेलले समाचारको स्रोत गोप्य राख्नु पत्रकारिताको आधारभूत मान्यता भएको बताएका छन्। उनले प्रहरीको धम्की र हतकडीको डरले स्रोतप्रतिको विश्वासघात गर्न नसकिने अडान राख्दै आफू र संस्थाका अध्यक्ष विन्दु लम्साल साइबर ब्युरोमा उपस्थित भएको जानकारी दिएका छन्।

यसैबीच प्रधानमन्त्री कार्यालयले उक्त घटनामा प्रधानमन्त्री, उनको सचिवालय वा कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा घटनाक्रमबारे आफूहरूलाई कुनै जानकारी नभएको र संलग्नता नरहेको बताएकी छन्।

यसअघि जेनजी अभियन्ता रवि किरण हमालले पनि सञ्चारगृहमा प्रहरीको प्रवेशलाई अराजकीय व्यवहार भन्दै विरोध जनाएका छन्। उनले आलोचनाबाट डराएर प्रेस स्वतन्त्रतामाथि धावा बोल्नु लोकतन्त्रविरुद्धको कदम भएको टिप्पणी गरेका छन्। समाचारको स्रोतको गोपनीयता प्रेस स्वतन्त्रताको महत्वपूर्ण आधार मानिन्छ। कानुनी उपचारका अन्य बाटो हुँदाहुँदै समाचार कक्षमै प्रहरी प्रवेश गर्ने शैलीले स्वतन्त्र पत्रकारितालाई भयभीत बनाउने भन्दै चिन्ता व्यक्त गरिएको छ।