काठमाडौं । सञ्चारमाध्यमको समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले आपत्ति जनाएको छ ।
अदालतको अनुमतिसमेत नलिएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको काउन्सीलले जनाएको छ ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले विज्ञप्ति जारी गर्दै घटनाबारे ध्यानाकर्षण भएकोजनाएका छन् ।
विज्ञप्तिमा पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमतिसमेत नलिएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको उल्लेख छ ।
‘लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय हो, विज्ञप्तिमा भनिएको छ,’ यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।’
काउन्सिलले सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहिता सम्बन्धी उजुरी भएमा त्यसको छानबिन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलको भएको सरकार र प्रहरी प्रशासनलाई स्मरण गराएको छ ।
समाचारकै विषयलाई लिएर सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समाधान खोज्न सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ ।
काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न माग गरेको छ । यदि कानुनी आधारबिना नै नियन्त्रणमा राखिएको भए उनीहरूलाई तत्काल रिहा गर्नसमेत जोडदार माग गरिएको छ ।
विज्ञप्तिको अन्त्यमा काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमहरूलाई पनि सत्यतथ्यमा आधारित रहेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गर्दै प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनका लागि आफू सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।






