काठमाडौं । नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्रै रिहा गर्ने सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएको छ ।
कांग्रेसले जनदबाबपछि पत्रकार रिहा गर्नुभन्दा कानुनविपरीत पक्राउ गर्ने तथा पत्रकारमाथि दुर्व्यवहार र अनावश्यक हैरानी दिने कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ ।
समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्ने र धरपकड गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको कांग्रेसको ठहर छ । विगतमा शासकहरूले आफूमाथि उठेका प्रश्नको सामना गर्न नसकेर सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि हस्तक्षेप गरेका घटनाको स्मरण गराउँदै कांग्रेसले त्यस्तै प्रवृत्ति पुनः दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको जनाएको छ ।
कांग्रेसले आफू स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको पक्षमा संघर्ष गर्दै आएको उल्लेख गरेको छ । पार्टीले निरङ्कुश र स्वेच्छाचारी कदमविरुद्ध आफ्नो विरोध निरन्तर जारी रहने स्पष्ट पारेको छ ।
स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै कांग्रेसले कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत निकाय र प्रक्रिया रहेको जनाएको छ ।
ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा प्रहरी हस्तक्षेप गर्नु कानुनी शासनको अवधारणाविपरीत भएको कांग्रेसको भनाइ छ । यसले कानुनको शासन स्थापित गर्नुको सट्टा कानुनलाई नै सत्ताको औजार बनाउने प्रवृत्तिलाई प्रश्रय दिने पार्टीको ठहर छ ।
कांग्रेसले सञ्चारमाध्यम र पत्रकारमाथि भएको प्रहरी हस्तक्षेपलाई दमनकारी, निन्दनीय र आपत्तिजनक भन्दै घटनाको कडा शब्दमा भर्त्सना गरेको छ ।
साथै, नियन्त्रणमा लिइएका व्यक्तिको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाबाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग जोडदार माग गरेको छ ।






