बाजुरा– धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकामा भारी हिमपातपछि दुई जना पर्यटक सम्पर्कविहीन भएका छन्। बडीमालिका माताको दर्शन तथा भ्रमणका लागि पुगेका उनीहरू वर्षासँगै भएको हिमपातका कारण सम्पर्कविहीन भएका हुन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेका छन्।
गत कात्तिक ९ गते बाजुराको सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो। टोलीका तीन जना बडीमालिका पुगेर सकुशल फर्किए पनि बाँकी दुई जना भने सम्पर्कविहीन भएका हुन्।
चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका भगवती मन्दिरको दर्शन गरेर फर्किने क्रममा शुक्रबार मनिष बोहरा सम्पर्कविहीन भएका थिए। त्यसपछि सागरसँग पनि शनिबार रातिदेखि सम्पर्क हुन नसकेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।
उनका अनुसार सागरले शुक्रबार फोन सम्पर्कका क्रममा बडीमालिकाबाट फर्किने क्रममा आफ्नो साथी हराएको र आफू त्रिवेणी पाटनमा रहेको बताएका थिए। भारी हिमपातका कारण मनिष हराएको र हिउँका कारण तल झर्न नसक्दा सागरसमेत अलपत्र परेको हुनसक्ने प्रहरीको अनुमान छ।
दुवै जनाको मोबाइल फोन बन्द रहेकाले उनीहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुन सकेको छैन। उनीहरूको खोजी तथा उद्धारका लागि मार्तडीबाट प्रहरी टोली पठाउने तयारी भइरहेको सूचना अधिकारी शाहीले बताए।
शुक्रबारदेखि जिल्लाका विभिन्न क्षेत्रमा भइरहेको वर्षासँगै बडीमालिकालगायत उच्च हिमाली भेगमा भारी हिमपात भएको छ। प्रतिकूल मौसम र बाक्लो हिउँका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ हुनसक्ने प्रहरीले जनाएको छ।






