नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि आवश्यक नीतिगत सुधार तथा सहज वातावरण निर्माण गरिने बताएका छन्। नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउँदै ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न सरकारले सहजीकरण गर्ने उनको भनाइ छ।

शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले गेम डेभलपमेन्ट तथा आईटी क्षेत्रसँग सम्बन्धित विद्यमान नियम, नीति र व्यावसायिक वातावरणको पुनरावलोकन गरिने जानकारी दिएका हुन्।

उनका अनुसार नेपालमै विकास गरिएका गेमिङ एपले अन्तर्राष्ट्रिय बजारमा राम्रो सफलता हासिल गरेका छन्। विश्वभर चर्चित लुडो गेम करिब २० करोड पटक र कलब्रेक गेम एक करोड ५० लाखभन्दा बढी पटक डाउनलोड हुनु नेपाली प्रतिभाको उदाहरण भएको उनले उल्लेख गरेका छन्। यस क्षेत्रमा सयौँ युवा गेमिङ एप निर्माणमा सक्रिय रहेको पनि उनले बताएका छन्।

प्रधानमन्त्री शाहले गेम डेभलपमेन्ट क्षेत्रका कम्पनी तथा युवासँग छलफल गरी उनीहरूका समस्या र चुनौतीबारे जानकारी लिइसकेको जनाएका छन्। उक्त क्षेत्रलाई सहज बनाउँदै उद्योगका रूपमा विकास गर्न आवश्यक गृहकार्य अघि बढाइएको उनको भनाइ छ।

त्यसैगरी, आईटीसम्बन्धी उत्पादन तथा सेवा निर्यातको अवस्था सकारात्मक रहेकाले दक्ष जनशक्ति र कम्पनीलाई प्रोत्साहन गर्न कर प्रणालीमा सहजीकरण तथा नीतिगत सुधार गरिने उनले बताएका छन्। अन्तर्राष्ट्रिय आम्दानीसँग सम्बन्धित नियमलाई पनि थप सरल बनाउने सरकारको तयारी छ।

गेम जाम, स्टार्टअप इभेन्ट, ह्याकाथोन तथा सूचना प्रविधिसम्बन्धी विभिन्न कार्यक्रमलाई प्रोत्साहन गरिने पनि प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। यसका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग नियमित अन्तरक्रिया गर्दै समग्र आईटी उत्पादन तथा गेमिङ उद्योगलाई लाभ पुग्ने गरी आवश्यक पूर्वाधार र इकोसिस्टममा लगानी गरिने उनले बताएका छन्।