जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको हो । यससँगै पोखराले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।

पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा पाँच चौका प्रहार गरे । यस्तै विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ र किरण ठगुन्नाले १५ रन जोडे ।

पोखराका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । दिनेश खरेल ३, महेदी हसन ८, शाकिब अल हसन ९, अर्जुन घर्ती ७, चमिका करुणारत्ने ४ र मोहम्मद सैफुद्दिन शून्य रनमा आउट भए । प्रतिक पोखरेल दुई रनमा अविजित रहे ।

जनकपुरको जितमा स्पिनर मोइन अलीले सर्वाधिक तीन विकेट लिए । कप्तान हर्मीत सिंह र सैफ हसनले दुई–दुई तथा जिम्मी निशम र ललित राजवंशीले एक–एक विकेट हात पारे ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४७ रन बनाएको थियो ।

जनकपुरका ओपनर त्रितराज दासले सर्वाधिक ६१ रन बनाए । उनले ५५ बलमा सात चौका र एक छक्का प्रहार गरे । पहिलो विकेटका लागि उनले मोइन अलीसँग ४७ रनको साझेदारी गरेका थिए । मोइनले १६ बलमा २१ रन जोडे ।

त्यस्तै अभिषेक तिवारीले आक्रामक ब्याटिङ गर्दै १० बलमा अविजित २४ रन बनाए । सैफ हसन एक, कप्तान हर्मीत सिंह नौ, जिम्मी निशम ११ तथा अमरसिंह रौटेला र अनिलकुमार शाह समान नौ रनमा आउट भए ।

पोखराका लागि शाकिब अल हसनले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा १५ रन खर्चिए । चमिका करुणारत्नेले दुई तथा महेदी हसन र मोहम्मद सैफुद्दिनले एक–एक विकेट लिए ।