स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसी काठमाडौं ल्याइयो

काठमाडौं । विभिन्न माग राख्दै २५औँ पटक आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आज हेलिकोप्टरमार्फत इलामबाट काठमाडौं ल्याइएको हो।

डा. केसीले आफ्ना विभिन्न माग अघि सार्दै गत बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा आमरण अनशन सुरु गरेका थिए। अनशनको चौथो दिन पुग्दा उनको स्वास्थ्य अवस्था थप जटिल बनेको हो।

चिकित्सकका अनुसार केसीको रगतमा ग्लुकोजको मात्रा निकै कम हुनुका साथै पिसाबमा एसिटोनको मात्रा बढेको छ। यसले उनको स्वास्थ्यमा गम्भीर जोखिम निम्तिन सक्ने भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन्।

आज हेलिकोप्टरबाट काठमाडौं ल्याइएका केसीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी आवश्यक उपचार सुरु गरिएको छ।