काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
भेटका क्रममा जलवायु परिवर्तन, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
त्यसैगरी, दुई देशबीच आपसी हितका क्षेत्रमा सहयोग र सहकार्य थप विस्तार गर्ने तथा गोर्खा सैनिकको पेन्सनसम्बन्धी विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ ।






