काठमाडौं – अमेरिकामा आज मंगलबार मध्यावधि निर्वाचन हुँदै छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको करिब दुई वर्ष पूरा हुन लाग्दा हुन लागेको निर्वाचनले अमेरिकी कंग्रेसका दुवै सदनको शक्ति सन्तुलन निर्धारण गर्नेछ। नतिजाले ट्रम्प प्रशासनलाई बाँकी कार्यकालमा आफ्नो विधायी कार्यसूची अघि बढाउन कति सहज हुन्छ भन्ने पनि तय गर्नेछ।
निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान हुँदै छ। सिनेटका ३३ नियमित सिटका अतिरिक्त दुई सिटमा विशेष निर्वाचन हुँदै छ। त्यस्तै, ३६ राज्यमा गभर्नर चुनिनेछन्। मतदाताले आफ्नो राज्य र निर्वाचन क्षेत्रअनुसार राज्य तथा स्थानीय तहका प्रतिनिधि पनि चयन गर्नेछन्।
हाल प्रतिनिधिसभा र सिनेट दुवैमा रिपब्लिकन पार्टीको बहुमत छ। प्रतिनिधिसभामा उसको बहुमत साँघुरो भएकाले केही निर्वाचन क्षेत्रको नतिजाले पनि सदनको नियन्त्रण बदल्न सक्छ। सिनेटमा बहुमत हासिल गर्न डेमोक्र्याटिक पार्टीले आफ्नो हालको सिट सङ्ख्या चारले बढाउनुपर्नेछ।
डेमोक्र्याटहरूले प्रतिनिधिसभाको नियन्त्रण लिए ट्रम्प प्रशासनका निर्णयमाथि संसदीय निगरानी र अनुसन्धान बढ्न सक्छ। रिपब्लिकनले दुवै सदनमा बहुमत जोगाए प्रशासनलाई विधेयक र बजेटसम्बन्धी प्राथमिकता अघि बढाउन सहज हुनेछ।
रोयटर्सका अनुसार जीवनयापनको लागत, आर्थिक अवस्था, इरानसँगको युद्ध र ट्रम्प प्रशासनका नीतिहरू यसपटक मतदाताका प्रमुख चासो हुन्। राष्ट्रपतिको पदका लागि मतदान नहुने भए पनि मध्यावधि निर्वाचनलाई उनको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा हेरिन्छ। यसको नतिजाले सन् २०२८ को राष्ट्रपति निर्वाचनका लागि दुवै दलले तय गर्ने रणनीतिमा पनि प्रभाव पार्नेछ।






