काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबाट अलग भएर भुजेलले छुट्टै नेपाल कम्युनिष्ट पार्टी गठन गरेकी थिइन्। मंगलबार उनले प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्ने सम्बन्धमा १० बुँदे सहमति गरेकी हुन्।
यससँगै मंगलबार काठमाडौँको पेरिसडाँडास्थित नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा एकता घोषणा सभा पनि आयोजना गरिएको छ।
एकता सहमतिपत्रमा नेपाल कम्युनिष्ट पार्टीकी महासचिव उमा भुजेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय तथा आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित दुई पार्टीबीच एकता भएको सहमतिपत्रमा उल्लेख छ।
बृहत् कम्युनिष्ट आन्दोलनको आवश्यकता महसुस गर्दै दुवै पार्टी एकताबद्ध भएको जनाइएको छ।
यस्ता छन् एकताका १० बुँदे सहमति
1. मार्गनिर्देशक सिद्धान्त : पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ।
2. क्रान्तिको कार्यक्रम : नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ।
3. तात्कालिक कार्यनीति : संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि तथा रूपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने।
4. आन्दोलनको स्वरूप : आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ। समय र परिस्थितिअनुसार आन्दोलनका सबै स्वरूप अपनाउन सकिनेछ। सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गरिनेछ।
5. एकता राष्ट्रिय महाधिवेशन : आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ।
6. संगठनात्मक समायोजन : केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्यसंयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिका आधारमा समायोजन गरिनेछ।
7. एकता तथा समायोजन : सबै तहका पार्टी समिति र जनसंगठनलाई सहमतिका आधारमा समायोजन गरिनेछ। उक्त कार्य मंसिर मसान्तभित्र सम्पन्न गरिनेछ।
8. पार्टी समितिको सञ्चालन : पार्टीका सबै समितिहरू विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार सञ्चालन हुनेछन्।
9. पार्टीको नाम र चुनाव चिह्न : एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी र चुनाव चिह्न पाँचकुने तारा रहनेछ।
10. मतभेद समाधान : सिद्धान्त, विचार तथा विगतको समीक्षासम्बन्धी आपसी मतभेदबारे निरन्तर छलफल गरिनेछ। त्यसबाट प्राप्त निष्कर्षलाई एकता राष्ट्रिय महाधिवेशनमार्फत टुंगो लगाइनेछ।






