एनपीएल: रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरले जनकपुरलाई २ रनले हरायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।

मंगलबार काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन मात्रै बनाउन सक्यो।

जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रनको अविजित पारी खेले। उनले ४७ बलमा २ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै, विशाल सुश्लिङले ४३ र जेम्स निशमले २७ रन बनाए।

बलिङतर्फ विराटनगरका आन्द्रे रसेलले ३ विकेट लिए। एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो।

विराटनगरका लागि इमरान शेखले ५६, आन्द्रे रसेलले अविजित ५२ तथा लोकेश बमले ५० रनको योगदान दिए।

जनकपुरका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए। यससँगै विराटनगरले जनकपुरविरुद्ध रोमाञ्चक २ रनको जित निकालेको छ।