पोखराविरुद्ध बलिङ गर्दै लुम्बिनी, अर्जुन कुमाल पहिलो रोजाइमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा साविक विजेता लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले बलिङ गर्ने निर्णय गर्दै पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

लुम्बिनीले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। दिलीप नाथ र श्याड्ली भान साइलवायकको स्थानमा अभिषेक गौतम र रुबेन ट्रम्पलम्यानले पहिलो रोजाइमा मौका पाएका छन्।

यस्तै, पोखराले टोलीमा तीन परिवर्तन गरेको छ। अर्जुन कुमालले दिनेश खरेलको स्थानमा खेल्दैछन्। त्यस्तै, प्रतीक पोखरेलको स्थानमा आकाश चन्द र मोहम्मद सैफुद्दिनको स्थानमा सदिरा समरविक्रमाले पहिलो रोजाइमा स्थान बनाएका छन्।

एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी अहिलेसम्म अपराजित रहँदै प्रतियोगिताको एकमात्र अपराजित टोली बनेको छ। यता पोखरा भने हालसम्म जित निकाल्न नसक्ने एक्लो टोलीका रूपमा रहेको छ।