काठमाडौं । सरकारले किसानबाट धान खरिद प्रक्रिया अघि बढाएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबीचको समन्वयमा सरकारले किसानको धान खरिद गर्ने प्रक्रिया सुरु गरेको हो।
दुई मन्त्रालयबीचको समन्वयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगर शाखाले किसानबाट मोटा धान खरिद गर्ने भएको छ। यससँगै अन्य जिल्लामा पनि क्रमशः धान खरिद प्रक्रिया अघि बढाइने जनाइएको छ।
कम्पनीले महेन्द्रनगर शाखा कार्यालय परिसरबाट आगामी कात्तिक १९ र २० गते किसानलाई धान बिक्रीका लागि कुपन वितरण गर्ने जनाएको छ। कुपनमा उल्लेख गरिएको मितिअनुसार किसानले कम्पनीको मापदण्ड पूरा गरेको मोटा धान महेन्द्रनगरस्थित गोदाममा ल्याउनुपर्नेछ।
कम्पनीका अनुसार धान तौलने कार्य कात्तिक २७ गतेदेखि सुरु हुनेछ। सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा धान तौलने व्यवस्था मिलाइएको छ।
धान बिक्री गर्न इच्छुक किसानले अनिवार्य रूपमा अग्रिम कुपन लिनुपर्नेछ। साथै, कम्पनीले तोकिएको मिति र आवश्यक कागजातसहित धान बिक्रीका लागि उपस्थित हुन किसानलाई आग्रह गरेको छ।
यसअघि गत असोज २१ गते कृषि, वन तथा पर्यावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको भेटवार्तामा किसानको धान खरिदलगायतका विषयमा छलफल भएको थियो। सोही छलफल र समन्वयका आधारमा सरकारले धान खरिद प्रक्रिया अघि बढाएको हो।






