काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।
समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो । समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईले साइतबारे जानकारी दिएका हुन् ।
समितिका अनुसार मध्याह्नकालमा टीका लगाउन कुनै बाधा छैन । तर, साइत खोज्नेहरूका लागि अभिजित् मुहूर्तको शुभ समय निर्धारण गरिएको हो । राज्य सञ्चालकले भने निर्धारित साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । सर्वसाधारणले मध्याह्नकालमा पनि टीका लगाउन सक्नेछन् ।
यस वर्षको यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछ । उक्त दिन धनत्रयोदशी अर्थात् धनतेरस पर्व मनाइनेछ । कात्तिक २१ गते शनिबार काग तिहारसँगै धन्वन्तरी जयन्ती परेको छ ।
त्यस्तै, कात्तिक २२ गते आइतबार नरक स्नानसहित कुकुर तिहार मनाइनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा गरिने समितिले जनाएको छ ।
दिउँसो कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा पर्वहरूको निर्णय गरिएको समितिले स्पष्ट पारेको छ । शास्त्रीय मान्यताअनुसार सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने हुन्छ ।
औँसी तिथिमा गरिने स्नान तथा दान भने कात्तिक २३ गते सोमबार बिहान गर्नुपर्ने समितिले जनाएको छ । लक्ष्मीपूजा पनि सोही दिन गरिनेछ ।





