काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नागरिकको सुरक्षा, सम्मान र भरोसालाई सदैव प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट सुशोभित भएपछि सम्बोधन गर्दै उनले संविधान र कानुनको पूर्ण पालना गर्दै प्रहरी संगठनलाई निष्पक्ष, मर्यादित र जनउत्तरदायी बनाउने प्रतिबद्धता जनाएका हुन् ।
प्रहरी संगठनको गरिमा र निष्पक्षतामा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै उनले नागरिकसँगको सम्बन्धलाई संगठनको सबैभन्दा ठूलो पुँजीका रूपमा व्याख्या गरे ।
‘आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा सुरु गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरून् र प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्’, उनले भने ।
महानिरीक्षक केसीले प्रहरी कर्मचारीका समस्या तथा गुनासा सम्बोधन गर्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र स्थापना गर्ने घोषणा पनि गरे । उनले प्रहरी कर्मचारीको कार्यसम्पादनमा देखिएका चुनौती, सीमित स्रोतसाधन, भवन अभाव, लामो कार्यघण्टा, सरुवा–बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने बताए ।
त्यसैगरी, प्रहरी संगठनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तताका लागि सरकारसँग आग्रह गरे । प्रहरी संगठनलाई दलीय प्रभावबाट मुक्त राख्न राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।






