कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्युरोले नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। हाल काठमाडौं उपत्यका बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई ब्युरोले फोनमार्फत सम्पर्क गरी बोलाएको हो।

शिवाकोटीले आफू काठमाडौं फर्कँदै गरेको र ब्युरोमा उपस्थित हुने जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सरकारले भय र भ्रम सिर्जना गरेर शासन गर्न खोजेको आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदैछु।’

केही दिनयता शिवाकोटीले सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा कांग्रेसलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गर्दै आएका छन्। उनले पत्रकार रोशन खड्काका अभिव्यक्ति र प्रहरी हिरासतमा रहेका इनम सापकोटाको बयानको अडियो रेकर्डका विषयमा प्रश्न उठाउँदै सरकारलाई जिम्मेवार ढंगले जवाफ दिन आग्रह गरेका थिए।

साइबर ब्युरोका स्रोतका अनुसार पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई बोलाइएको हो।