काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ ।
प्राधिकरणले सम्बन्धित ३२ जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भएर प्राप्त भएका विवरणका आधारमा बेपत्ता व्यक्तिको सूची सार्वजनिक गरेको हो ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना बेपत्ता भएका छन् । यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी (पूर्व), उदयपुर, काभ्रेपलाञ्चोक, नवलपरासी (पश्चिम), तेह्रथुम, रुकुम (पूर्व), सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुलीका बेपत्ता नागरिकको विवरण पनि सार्वजनिक गरिएको छ ।
यसैगरी सात देशका १७१ जना विदेशी नागरिकको बेपत्ता विवरणसमेत सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ । बेपत्ता व्यक्तिको विस्तृत विवरण प्राधिकरणको वेबसाइटमा उपलब्ध छ ।
प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक सूचीमा रहेका व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारका सदस्यलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ ।
स्वदेशी नागरिकको हकमा बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिस र सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा सूची तयार पारिएको हो ।
त्यस्तै, बेपत्ता विदेशी नागरिकको विवरण सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त सूचनाका आधारमा सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ ।
३२ जिल्लाबाहेकका अन्य जिल्लाबाट विवरण प्राप्त भएपछि तथा बेपत्ता विदेशी नागरिकका सम्बन्धमा थप सूची आएपछि पुनः सूचना प्रकाशित गरिने प्राधिकरणले जनाएको छ ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म एक हजार ४५७ जनाको मृत्यु भएको छ भने पाँच हजार २८५ जना बेपत्ता रहेको प्राधिकरणको तथ्याङ्क छ ।






