दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

काठमाडौं– यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसरमा आज काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि २३औँ ‘काग सम्मेलन’ आयोजना गरिएको छ। सम्मेलनमा सयौँ कागलाई एकै ठाउँमा भेला गराइएको थियो।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको सम्मेलनमा कलाकार रमेश दुलालले कागको हुबहु आवाज निकालेर आकाश तथा वरपरका रूखमा रहेका कागलाई कार्यक्रमस्थलमा बोलाएका थिए। उनले कागको आवाज निकाल्न थालेपछि केही समयमै दरबारमार्ग क्षेत्र सयौँ कागले भरिएको थियो।

कलाकार दुलालले १७३ प्रकारका जीवजनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने बताइएको छ।

कागको संरक्षण, पर्यावरणीय सन्तुलन कायम राख्न यसको भूमिका तथा नेपाली मौलिक संस्कृतिमा कागको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ।

नेपाली धार्मिक तथा सांस्कृतिक परम्परामा कागलाई सन्देशवाहक र यमराजको दूतका रूपमा लिने गरिन्छ। काग तिहारका दिन कागको पूजा गरी खानेकुरा खुवाउँदा अशुभ समाचार सुन्न नपर्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने जनविश्वास छ।

धार्मिक मान्यताअनुसार कागले मानिसका सन्देश यमराजसमक्ष पुर्‍याउने विश्वास गरिन्छ। यही परम्पराअनुसार काग तिहारका दिन बिहानै घरको छत, आँगन तथा खुला स्थानमा दुना–टपरीमा विभिन्न परिकार राखेर कागलाई बोलाउँदै खानेकुरा दिने चलन छ।