पोखराले बनायो सिजनकै उच्च स्कोर, कर्णालीलाई २१८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको हो।

पोखराका ओपनर युवराज सामराले शतकीय इनिङ्स खेल्दै १०२ रन बनाए। जारी एनपीएलमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन्। उनले ४८ बलमा १० चौका र ६ छक्का प्रहार गरे।

यस्तै, कुशल भुर्तेलले आक्रामक अर्धशतकीय इनिङ्स खेले। उनले ७ छक्कासहित टोलीको स्कोर उकास्न महत्त्वपूर्ण योगदान दिए।

कप्तान चमिका करुणारत्नेले पनि विस्फोटक ब्याटिङ गर्दै अविजित ३५ रन बनाए। उनले ११ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

बलिङतर्फ कर्णाली याक्सका सोमपाल कामीले २ तथा मार्क वाटले १ विकेट लिए।