पर्सामा पटका पड्काउने क्रममा एक बालकको मृत्यु

पर्सा– पटाका पड्काउने क्रममा छातीमा आगो लागेर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाका पड्काउने क्रममा स्थानीय मखु सहनीका पाँच वर्षीय छोरा कुन्दन सहनी घाइते भएका थिए।

पटाका पड्काउँदा छातीमा आगो लागेर बेहोस भएका बालकलाई तत्काल उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिनुभयो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनासँगै भारतसँगको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रणको विषय पुनः चर्चामा आएको छ।